- कमल कार्की (स्वर्णिम स्कुल नेपाली विषय विभाग प्रमुख)
मानव सभ्यताका मार्गदर्शक, ज्ञानको ज्योति र भण्डारका रुपमा रहेका गुरुप्रति आदर, भक्तिभाव, सम्मान र श्रद्धा भाव व्यक्त गर्दै मनाइने गुरुपूर्णिमा विशुद्ध आध्यात्मिक पर्व हो । यो पर्व विशेष गरी हिन्दु, बौद्ध र जैन धर्मावलम्बीहरूले असार पूर्णिमाका दिन मनाउने गर्छन् । पाश्चात्य संस्कृतिमा पनि यो पर्वलाई विशेष रुपमा मनाइने चलन पाइन्छ । यसबाट गुरुको महिमा सजिलै बुझ्न सकिन्छ । पूर्वीय परम्पराअनुसार छात्र वा शिष्यहरू आफ्ना गुरुप्रति आफूलाई समर्पित गरी मनाउँछन् । गुरुहरू त्यस्ता व्यक्तिहरू हुन् , जो ज्ञानको ज्योति छरेर अन्धकाररुपी अज्ञानतामा रहेका आफ्ना शिष्यलाई ज्ञानी, सक्षम र योग्य बनाउँछन् र सही मार्गनिर्देश गर्छन् । धार्मिक मान्यताअनुसार पनि भगवान् शिवले सप्तर्षिहरूलाई आजकै दिन योगको ज्ञान सिकाएर प्रथम गुरु बनेको भन्ने विश्वास छ । बौद्ध धर्मअनुसार गौतम बुद्धले पनि आजकै दिन सारनाथमा आफ्नो पहिलो उपदेश दिनुभएको थियो भन्ने मान्यता छ । जैन धर्ममा पनि भगवान् महावीरले यही दिन ज्ञान प्रदान गरेर गुरु बन्नु भएको विश्वास गरिन्छ । यही दिन महाभारत महाकाव्यका रचयिता महर्षि वेदव्यासको जन्म दिनका रुपमा मनाइने भएकाले आजको दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ । आजकै दिनमा विद्यालय , कलेजलगायत विभिन्न शैक्षिक संस्थाहरूमा आफ्ना गुरुप्रति आदर भाव व्यक्त गरी मनाउने चलन पनि छ ।
गुरुको महिमा पौराणिक काल, वैदिक कालदेखि आजको आधुनिक युगसम्म पनि उत्तिकै छ , गुरुबिनाको जिन्दगी कल्पनासमेत गर्न सकिन्न , हिन्दु धर्ममा गुरुलाई भगवान् भन्दा पनि माथिको दर्जा दिइएको हुनाले पनि गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिनका कारण गुरुपूर्णिमाको महत्त्व विशेष रहेको हो । जीवनमा गुरुको महत्त्व धेरै रहन्छ । ‘गु’ को अर्थ हुन्छ अन्धकार (अज्ञान) एवं ‘रु’ को अर्थ हुन्छ प्रकाश (ज्ञान)। गुरुले अज्ञान रूपी अन्धकारबाट ज्ञानरूपी प्रकाशतर्फ लिएर जाने हुँदा भावी जीवनको निर्माणमा गुरूद्वारा नै मार्गदर्शन हुने भएकोले गुरु जीवनमा अपरिहार्य हुन्छ । जन्मदेखि मृत्युपर्यन्त हामी कोही न कोहीलाई आदर्श मानी सिकिरहेका हुन्छौँ भने गुरुको महत्त्वलाई नकार्न सकिन्न । गुरु माझी हुन् , यात्रुलाई पारि पुर्याउने ; गुरु मैनबत्ती हुन् , आफू जलेर उज्यालो छर्ने । गुरुको ज्ञानले भवसागरबाट पार लगाउन , अँध्यारोबाट उज्यालोतर्फ डोर्याउन अनि गुरुको ज्ञानको सहायताले संसार परिवर्तन गर्न सक्ने अथाह सम्भावना रहेकाले गुरुप्रति हार्दिक आदर सम्मान गर्दै गुरुपूर्णिमा मनाऔँ । गुरुपूर्णिमाको हार्दिक शुभकामना !